24th May, 2026
जिल्ला दुग्ध उत्पादक सहकारी संघका पदाधिकारी तथा व्यवस्थापकहरूका लागि तीन दिने हेफर आधारशिला तालिम तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चालित मिल्की वे कार्यक्रम अन्तर्गत केन्दीय दुग्ध सहकारी संघको आयोजनामा सम्पन्न भएको तालिममा कास्की, तनहुँ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी तीन जिल्लाका दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहकारी तथा समुदाय विकासका साझा मूल्य, सिद्धान्त र उद्देश्यहरूसँग सरोकारवालाहरूलाई अझ प्रभावकारी रूपमा जोड्दै आधारभूत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममार्फत जिल्लास्तरका दुग्ध सहकारीहरूको संस्थागत क्षमता सुदृढ हुनुका साथै सकारात्मक सोचको विकास, दुग्ध उत्पादक सहकारी तथा कृषकहरुको सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै जिल्ला संघहरूले आफ्ना कार्यक्रमहरू सक्रिय र प्रभावकारी रूपमा सञ्चालन गर्दै दिगो रूपमा सेवा प्रवाह गर्न सक्षम हुने अपेक्षा पनि गरिएको छ ।

सहभागीहरूबीच सहकार्य र समन्वयको भावना विकास गर्दै रचनात्मक रूपमा सामाजिक पुँजी अभिबृद्धि तथा दुग्ध किसान र समग्र समुदायलाई लाभ पुग्ने पहलहरूलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको हो । यही जेष्ठ ६ गते बुधबार सुरु भई ८ गते शुक्रबार सकिएको तालिममा तीनवटै जिल्ला संघबाट सञ्चालक तथा व्यवस्थापक गरी ३१ जनाको सहभागिता रहेको थियो । तालिमका क्रममा सहकारीका सिद्धान्त अनुसार जिल्ला संघहरुले आगामी दिनमा दुग्ध किसान, सहकारी संस्था तथा संघका लागि गर्न सक्ने कृयाकलापहरु समावेश गरी कार्ययोजनासमेत निर्माण गरेका छन् । कार्ययोजनामा जिल्लाभित्रका सबै दुग्ध उत्पादक तथा दूधको कारोबार गर्ने सहकारीहरुलाई जिल्ला संघमा आवद्ध गराउने, अपूर्ण रहेका कार्यविधि (नीति) निर्माण गरी कार्यान्वयन गर्ने, उपभोक्ताहरुको बीचमा विश्वासको वातावरण श्रृजना गरी जिम्मेवारी बहन गर्ने लगायतका कृयाकलाप समेटिएका छन् । त्यस्तै किसानलाई दूधको मुल्य थप गर्ने र उचित बजारिकरणको प्रबन्ध गर्ने, घाँस उपहार कार्यक्रम सञ्चालन गर्ने, पशुबीमा कार्यक्रम जिल्ला दुग्ध उत्पादक सहकारी संघमार्फत जिल्लाभर लागु गर्ने, एकआपसमा मितव्ययिता कायम गर्ने, मित्रवत व्यवहार गर्ने कुराहरु पनि कार्ययोजनामा छन् ।

तालिमको सहजीकरण शकुन्तला रसाली, विष्णुप्रसाद कंडेल र डा. लेखनाथ अधिकारीले गर्नुभएको थियो । तालिम समापनका क्रममा सहभागीले साना किसानलाई व्यवसायिक बनाउने प्रतिवद्धता गर्नुभएको छ भने तालिमका कारण तीन जिल्ला संघहरुको बीचमा पारस्परिक सम्बन्ध कायम भएको प्रतिक्रिया दिनुभएको छ । तालिम समापनमा बोल्दै केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुँवरले हेफर नेपालसँगको साझेदारीमा हेफर आधारशिला तालिमलाई अरु जिल्लासंघ तथा दुग्ध उत्पादक सहकारीहरुसम्म लैजाने प्रयास भइरहेको जानकारी दिनुभएको थियो ।