केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल(CDCAN) Central Dairy Cooperative Association Ltd Nepal
SINCE 1992

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल (CDCAN), सहकारी ऐन, २०४८ लागु भएपछि दर्ता भएका विषयगत केन्द्रीय सहकारी संघहरु मध्ये पहिलो हो । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी २ वटा जिल्ला संघ र अन्य २६ वटा सहकारी संस्था मिलेर वि. सं. २०४९ साल चैत्र २० गते (सहकारी दिवस) का दिन केन्द्रीय संघ स्थापना भएको हो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको रुपमा दर्ता भएको संघको ९ सदस्यीय तदर्थ समितिमा अध्यक्ष टंकप्रसाद लम्साल (काभ्रेपलाञ्चोक) रहनुभएको थियो भने उपाध्यक्षमा अम्बिका प्रसाद ढुङ्गेल (रौतहट) र सदस्यहरुमा जवाहरलाल यादव (सर्लाही), हेमप्रसाद निरौला (सर्लाही), शेषशाली मोहम्मद (रौतहट), अर्जुन प्रसाद पुडासैनी (मकवानपुर), दिपकप्रसाद पौडेल र लोकनाथ ढकाल (काभ्रेपलाञ्चोक) तथा चेतप्रसाद घोरासैनी (सिन्धुपाल्चोक) रहनुभएको थियो । 

रौतहट जिल्लाका हिमालय, हंश, सरस्वती, पशुपति, श्रीशक्ति, कामधेनु, दिव्यज्योती, जनभावना र जयकिसान गरी ९ वटा दुग्ध उत्पादक सहकारी संस्था संस्थापक सदस्य थिए । सर्लाही जिल्लाका चर्तुर्भुजेश्वर, जनकल्याण, श्रीकृष्ण, चक्रेश्वर, शिवकुञ्ज र सर्वोदय गरी ६ वटा तथा मकवानपुर जिल्लाका पनि श्री, श्री सुपिङ, रुपनारायण, श्री किसान, नारायणी र लक्ष्मीनारायण गरी ६ वटा दुग्ध उत्पादक सहकारी संस्थापक सदस्य थिए । सिन्धुपाल्चोक जिल्लाका जिल्ला संघसँगै ढकालखहरे, देउरालीदेवी र ग्रिनचौर दुग्ध उत्पादक सहकारी र काभ्रेपलाञ्चोक जिल्लाको काभ्रे जिल्ला संघसँगै उमादेवी र ब्रम्हायणी गरी दुईवटा दुग्ध उत्पादक सहकारी संस्थापक सदस्य थिए । २०५० साल पौष १५ गतेको दिन भएको साधारणसभाबाट सर्लाहीका माधव कोइरालाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन भयो । उपाध्यक्षमा टंकप्रसाद लम्साल (काभ्रे), सदस्यहरुमा पूर्णदत्त भुसाल (चितवन), मोहन रायमाझी (सर्लाही), बालानन्द भण्डारी (रुपन्देही), बेदबहादुर स्याङतान (मकवानपुर), जवाहरलाल यादव (सर्लाही), देवप्रसाद तिमल्सिना (रौतहट) र लालबहादुर रानाभाट (तनहुँ) रहनुभएको थियो । लेखा समितिको संयोजकमा ध्रुवप्रसाद तिवारी (सिन्धुपाल्चोक), सदस्यमा दिपकप्रसाद पौडेल (काभ्रे) र जीवनलाल बस्याल (रुपन्देही) रहनुभएको थियो । 

एउटै पेशा र उद्देश्यका दुईवटा संघहरुको उपस्थितिले दूध उत्पादक किसान, सहकारी तथा सरोकारवालाहरुमा अन्यौल श्रृजना हुने र समस्या समाधानमा कठिनाई हुनसक्ने कुरालाई मध्येनजर गर्दै २०४७ साल चैत्र १२ र १३ गतेको प्रथम राष्ट्रिय सम्मेलनबाट गठन भएको नेपाल राष्ट्रिय दुग्ध उत्पादक किसान संघसमेत मिलेर २०५३ असार २७ र २८ गते १३ वटा जिल्ला संघहरु र २ सय ६० वटा सहकारी संस्था गरी २७३ संघ संस्थाको सहभागितामा एकीकृत केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको तदर्थ समिति गठन भएको थियो । माधव कोइरालाको अध्यक्षतामा गठन भएको २१ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा ढाकाराम अर्याल (स्याङ्जा) रहनुभएको थियो । सदस्यहरुमा पूर्णदत्त भुसाल (चितवन), देवप्रसाद तिमल्सिना (रौतहट), वेदनाथ शर्मा (सुनसरी), टंकप्रसाद लम्साल (काभ्रे), मोहन रायमाझी (सर्लाही), देवीप्रसाद रिमाल (मोरङ), गोविन्दप्रसाद गड्तौला (इलाम), रहनुभएको थियो । अरु सदस्यहरुमा कालिप्रसाद अधिकारी, पूर्णबहादुर डल्लाकोटी (चितवन), हरि सिग्देल (मकवानपुर), मोहन सापकोटा (काभ्रे), रामप्रसाद न्यौपाने (काभ्रे), दिपकप्रसाद पौडेल (काभ्रे), अम्मर बहादुर कुँवर (तनहुँ), जयराम बस्याल (पाल्पा), अर्जुन काफ्ले (स्याङ्जा), बालानन्द भण्डारी (रुपन्देही), शक्तिप्रसाद सापकोटा (रुपन्देही) र हर्कबहादुर वली (सुर्खेत) हुनुहुन्थ्यो । लेखा समितिको संयोजकमा कृष्णप्रसाद सापकोटा (काभ्रे), सदस्यमा बद्री लम्साल (मकवानपुर) र दिक्पाल योगी (दाङ) रहनुभएको थियो । त्यतिबेलासम्म चितवन, तनहुँ, रुपन्देही, सुनसरी, इलाम, झापा लगायतका जिल्लाका सहकारी संघ संस्थाहरु समेटिइसकेका थिए । बिस्तारै अरु जिल्लाका दुग्ध उत्पादक सहकारी संघ संस्थाहरु केन्द्रीय संद्धमा आवद्ध हुँदै गए । 

२०५३ पौष २६ र २७ गते पुल्चोक ललितपुरमा ५ सय भन्दा बढी संघ संस्थाहरु सहभागी भएको चौथो साधारण सभाबाट ढाकाराम अर्याल (स्याङ्जा) को अध्यक्षतामा २१ सदस्यीय सञ्चालक समिति गठन भयो । उपाध्यक्षमा पूर्णबहादुर डल्लाकोटी (चितवन), सदस्यहरुमा दिपकप्रसाद पौडेल, कृष्ण सापकोटा र मोहन सापकोटा (काभ्रे), राजेन्द्रबहादुर खड्का (सिन्धुपाल्चोक) रहनुभएको थियो । अन्य सदस्यहरुमा शक्तिप्रसाद सापकोटा र गुणाखर भुर्तेल (रुपन्देही), ज्ञानप्रसाद खराल र जयराम बस्याल (पाल्पा), हर्कबहादुर वली (सुर्खेत), सिताराम पराजुली र टिकाराम सुब्बा (इलाम), देवीप्रसाद रिमाल (मोरङ), देवप्रसाद तिमिल्सिना र बिन्देश्वर शाह (रौतहट), मोहन रायमाझी (सर्लाही), कृष्णप्रसाद बास्तोला र विजयराज अधिकारी (चितवन), मुक्तिप्रसाद पाठक (स्याङ्जा) र मोतिराज बराल (कास्की) रहनुभएको थियो । लेखा समितिको संयोजकमा शुभ अधिकारी (काभ्रे), सदस्यहरुमा बाबुराम दाहाल (चितवन) र बलराम पाठक (स्याङ्जा) रहनुभएको थियो । 

२०६२ सालको भाद्र २६ र २७ गते जावलाखेल ललितपुरमा भएको सातौं वार्षिक साधारणसभाले केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नाम परिवर्तन गरी केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल राख्ने निर्णय गरेको थियो । दर्ताका बेला २ वटा जिल्ला संघ र २६ वटा सहकारी संस्था गरी २८ वटा संघ संस्थाबाट सुरु भएको केन्द्रीय दुग्ध सहकारी संघमा २०५३ असार मसान्तसम्ममा २७३, पौष मसान्तसम्म ५१९ वटा संघ संस्था संघमा आवद्ध भएको विभिन्न तथ्याङ्कले देखाउँछ । २०६० सालको चैत्र मसान्तसम्ममा देशभरबाट ३५ वटा जिल्ला संघसमेत ६ सय ५० हाराहारीका संघ संस्थाले केन्द्रीय संघको सदस्यता लिएको तथ्याङ्क भेटिएको छ । २०८२ सालको असार मसान्तसम्ममा ३६ वटा जिल्ला दुग्ध उत्पादक सहकारी संघ र ८ सय ३ वटा दुग्ध उत्पादक सहकारी संस्था गरी ८ सय ३९ संघ संस्था केन्द्रीय संघको सदस्यता लिएका छन् । देशभर रहेका एक हजार ७ सय भन्दा बढी दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई केन्द्रीय संघमा आवद्ध गराउने प्रयास जारी छ । 

Our Vision

सहकारी प्रणालीमार्फत दुग्ध उत्पादक किसानहरूको दिगो तथा उच्च आय वृद्धि गर्दै गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन तथा प्रभावकारी बजारीकरण गर्ने

Our Mission

आत्मनिर्भर, गुणस्तरीय र प्रतिस्पर्धी दुग्ध सहकारी क्षेत्रको निर्माण

Our Strategy

Our Goals And Impact

अध्यक्षको सन्देश

divider
अध्यक्ष

दूधको उपभोग बढाऔं, ग्रामीण अर्थतन्त्र उकासौं

वि. सं. २०४९ साल चैत्र २० गते (सहकारी दिवस) का दिन स्थापना भएको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले अहिले ३३ वर्ष उमेर पार गरेको छ । यो अवधीमा असंगठित दुग्ध किसानहरु संगठित हुँदै सहकारीमार्फत आफ्नो हकहित तथा अधिकारका लागि आवाज उठाउन सक्ने भएका छन् भने राज्यबाट प्राप्त हुने सेवा सुविधामा पहुँच पनि बढेको छ ।

सहकारी ऐन, २०४८ लागु भएपछि देशभर स्थापित सबै दुग्ध उत्पादक सहकारी संघ संस्थाहरूको केन्द्रीय स्तरको छाता संगठनको रुपमा यसले अनवरत रुपमा काम गरिरहेको छ । देशभरका ७७ मध्ये ६४ जिल्लाका १ हजार ७ सय भन्दा बढी दुग्ध उत्पादक सहकारी संस्थाहरू र ३७ वटा जिल्ला दुग्ध उत्पादक सहकारी संघ समेतको प्रतिनिधित्व गर्दछ । एक घर एक सदस्यको आधारमा, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालमा ६ लाख घर परिवार प्रत्येक्ष रूपमा आवद्ध छन् । संघले स्थापना कालदेखि नै दुग्ध उत्पादक किसानहरुको क्षमता विकासका साथै हकहित तथा व्यवसाय प्रवर्द्धनमा पहल कदमी लिँदै आएको छ । 

संघले दुग्ध उत्पादक सहकारी संस्थाको नमुना विनियम तयार गरी देशका विभिन्न क्षेत्रमा सहकारी स्थापनाको लागि अभियान सञ्चालन गर्यो, जसको फलस्वरुप देशको ७७ वटा जिल्लामा समान रुपमा सञ्चालन गर्न सकिने थोरै व्यवसायहरु मध्ये दुग्ध व्यवसाय एक हो भनी स्थापित भएकोछ । केन्द्रीय संघले नीति बनाएरै दूधमा प्रतिलिटर अनुदान उपलब्ध गराउन नेपाल सरकारसमक्ष बहस पैरवी तथा अगुवाई गरिरहेको छ । त्यस्तै पशुधन (सुरक्षण) बीमा कार्यक्रम नेपाल ल्याउन र कार्यान्वयन सुरु गराउन पहल गरेको हो ।

हरेक वर्ष जुन १ तारिख अर्थात अन्तर्राष्ट्रिय दूध दिवसको अवसरमा राष्ट्रिय दूध दिवस मनाउन सुरुवात पनि गरेको हो । गुणस्तरीय दूधको उत्पादन असल अभ्यास कार्यक्रम देशैभर लागु गर्न अगुवाई गरिरहेको छ । कच्चा दूधको मुल्य बृद्धिका लागि नेपाल सरकारसँग बहस पैरवी गरी किसानलाई उचित मुल्य दिलाउन सकिएको अवस्था छ । दूध किसानको भुक्तानी वक्यौतालाई कम गर्दै दुधको नियमित भुक्तानीका लागि नेपार सरकार, दुग्ध विकास संस्थान तथा निजी डेरी उद्योगीहरुसँग निरन्तर पहल गरिरहेको छ । सरकारी तथा गैरसरकारी विभिन्न साझेदार निकायसँगको सहकार्यमा संघीय, प्रदेश तथा स्थानीय स्तरसम्म दुग्ध किसान, सहकारी संघ संस्थाको क्षमता विकास तथा हकहितका लागि संघले काम गरिरहेको छ । 

सरकारी अनुदान तथा सहुलियतहरु सहकारीमार्फत वास्तविक किसानसम्म पुर्याउन र किसानमैत्री नीति कार्यक्रम निर्माण तथा कार्यान्वयनका लागि संघले नेपाल सरकार समक्ष ध्यानाकर्षण पनि गराइरहेको छ । दूधको आन्तरिक खपत बढाउनुका साथै उत्पादन बढी भएको अवस्थामा विदेशी बजारको पहिचान तथा निर्यात प्रवर्द्धनका लागि पनि संघ प्रयासरत छ । 

अन्तिममा नेपाली किसानहरुको श्रमबाट उत्पादित स्वच्छ र गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थहरुको उपभोग गरी आफु र आफ्नो परिवारलाई स्वस्थ राख्नुका साथै नेपालको ग्रामीण अर्थतन्त्रलाई समृद्ध बनाउन सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दछु ।  

जय सहकारी !

अध्यक्ष

अम्मर बहादुर कुँवर